काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यराति देखि लागू हुँदैछ ।
मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामाग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ ।
मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न
पाइँदैन । एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम बाट पनि निर्वाचन प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । साथै मतदान केन्द्रको ३ सय मिटर वरिपरी राखिएका निर्वाचन चिह्न, प्रचार सामग्री हटाउनु पर्दछ ।
मौन अवधिमा उम्मेदवार वा कुनै राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि निषेध गरिएको छ ।
राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि सात वटै प्रदेशमा माघ १२ गते मतदान हुँदैछ ।
प्रदेश १ मा तीन, प्रदेश २ मा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूर पश्चिममा तीन पदका लागि निर्वाचन हुने छ ।
निर्वाचनमा नौ दलका ४३ जना उम्मेदवार छन् ।
सातै प्रदेशमा २ हजार २५ मतदाता रहेका छन् ।