काठमाण्डौ – प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपाल पुलिस क्लब लाई २१ रनले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो । जितका लागि एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनाउन सक्यो । पुलिसका दिपेन्द्र सिंह ऐरीले ६५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।
उपाधि सँगै एपीएफले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता पुलिसले तीन लाख रुपैयाँ प्राप्त गरेको छ ।