दमौली । तनहुँमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष १५ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुल प्रसाद तिवारीले यस वर्ष ढिला गरी सुन्तला पाकेको र वर्षा राम्रो भएका कारण सुन्तला उत्पादनमा वृद्धि भएको बताए । “जिल्लाका विभिन्न ठाउँमा गरिएको अनुगमन र कृषकको भनाइ अनुसार यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ”, उनले भने, “जिल्लाका कृषकले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।
गत वर्ष जिल्लामा आठ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । उत्पादित मध्ये धेरै सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, नारायणगढ लगायतका ठाउँमा बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमाद लगायतका ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् । यस वर्ष जिल्ला बाट रु २४ करोड बराबरको सुन्तला बिक्री वितरण हुने अनुमान छ ।
सुन्तला खरिदका लागि ठेकेदार सुन्तला बगानमै पुग्ने गरेका छन् । तनहुँमा एक हजार ६०० हेक्टर भन्दा बढी क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–२ र ३ स्थित उमाचोकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ । व्यास नगरपालिका–११ तनहुँसुर, वडा नं १३ को बेनीकोट, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्ला गण्डकी नगरपालिका–११ राइपुर, भीमाद नगरपालिका–९ भानुमति लगायतका ठाउँमा व्यावसायिक रुपमा सुन्तला उत्पादन हुँदै आएको छ ।
म्याग्दे गाउँपालिका–२ उमाचोकका सुकनारायण श्रेष्ठ, विश्व बहादुर अधिकारी, निर्मल अधिकारी, राम बहादुर अधिकारी लगायतले वार्षिक लाखौँ मूल्य बराबरका सुन्तला बिक्री गर्दै आए । बन्दीपुर गाउँपालिकाले सुन्तला उत्पादन वृद्धिका लागि पकेट क्षेत्रसमेत घोषणा गरेको छ । यसले कृषक लाई उत्साहित बनाएको छ । बन्दीपुर गाउँपालिका–६ काफलस्वाँरामा व्यावसायिक रुपमा सुन्तला खेतीका लागि पकेट क्षेत्र घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए।
कार्यक्रमका लागि गाउँपालिकाले रु पाँच लाख ५० हजार अनुदान दिनेछ । रु दुई लाख ७२ हजार ५०० कृषकले लागत सहभागिता बेहोर्नुपर्ने हुन्छ । दुई सय ५० रोपनी क्षेत्रफलमा सञ्चालन हुने कार्यक्रम मार्फत यस गाउँमा सुन्तला उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ । काफलस्वाँरा गाउँपालिकाको राम्रो सुन्तला उत्पादन हुने क्षेत्र हो । यहाँका ३२ घरधुरीले सुन्तला खेती गर्दै आएका छन् । यहाँबाट वार्षिक करिब रु २० लाख सम्म सुन्तला उत्पादन हुने गरेको छ । सुन्तलाको पकेट क्षेत्रको रुपमा घोषणा गरिए पछि यहाँ वार्षिक रुपमा सुन्तला उत्पादन वृद्धि हुने लक्ष्य लिइएको छ ।(रासस