काठमाण्डौ – महिला लाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतमा प्रहरीले धामी र पूजारी लाई पक्राउ गरेको छ । महिला लाई दुर्व्यवहार गरिएको भिडियो सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरु लाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नं ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ वर्षीय मिलन ज्ञवाली रहेका छन् । लेकबेँसी नगरपालिका–४ दशरथपुरमा कुलपूजा गर्न आएकी महिला लाई दुर्व्यवहार गरेको आरोपमा तीनै जना लाई पक्राउ गरिएको प्रहरी निरीक्षक कनक बहादुर शाहीले जानकारी दिनुभयो ।
“पक्राउ परेका माथि अनुसन्धान गर्न अदालत बाट अनुमति लिइसकेका छौँ, पीडित पक्षले अहिले सम्म उजुरी दिएको छैन”, उहाँले भन्नुभयो । ती महिला यही पुस ४ गते आफ्नो कुल देवताको पूजाका लागि माइती आएकी थिइन् । घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।-(रासस)