एजेन्सी– भारत सरकारले महिलाका लागि विवाह गर्ने न्यूनतम उमेर हद १८ वर्षबाट बढाएर २१ वर्ष पुर्याएको छ । यस अघि विवाहका लागि पुरुषको उमेर २१ वर्ष र महिलाको उमेर १८ वर्ष रहेकोमा अब महिला र पुरुष दुबैको न्यूनतम उमेर २१ वर्ष तोक्ने निर्णय भएको बीबीसी हिन्दीले जनाएको छ ।
मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार कानुनमा संशोधन पछि नियम लागू हुनेछ ।
यस अघि सन् १९९५ मा बनाइएको कानुनले विवाहको लागि महिलाको न्यूनतम उमेर १८ वर्ष तोकेको थियो ।
सरकारले बनाएको एउटा समितिले महिलाको विवाहको उमेर हद
पुरुष सरह बनाउन सिफारिस गरेको थियो । समितिका अध्यक्ष जया जेटलीले प्रत्येक क्षेत्रमा लैंगिक समानता र सशक्तीकरणको कुरा भइरहेका बेला विवाहको उमेरमा पनि समानता आवश्यक रहेको बताउनुभयो ।
विवाहका लागि १८ वर्षमै कानुनी मान्यता दिँदा महिलाले अध्ययन पूरा गर्न नपाउने, छिटै गर्भधारण गर्नुपर्ने लगायतका समस्या
देखिएकोले २१ बर्ष उपयुक्त हुने उहाँले बताउनुभयो ।
एउटा अध्ययन अनुसार अहिले २३ प्रतिशत भन्दा धेरै महिलाको विवाह १८ वर्षभित्रै भैरहेको छ ।
सरकारको निर्णयको मुस्लिम समुदायले भने विरोध गरेका छन् । इण्डियन युनियन मुस्लिम लिगले सरकारको निर्णयको विरोध गर्दै यो नियम मुस्लिम समुदाय माथिको अतिक्रमण भएको आरोप लगाएको बीबीसी हिन्दीले जनाएको छ ।