काठमाडौं । निर्वाचन आयोगले माघ १२ मा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ ।
निर्वाचन प्रयोजनका लागि आजदेखि पुस १० सम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न आह्वान गरिएको हो ।
निर्वाचन कार्यक्रम अनुसार पुस १७ मा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ भने सोही दिन प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने, नाम
समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम छ ।
राष्ट्रिय सभा सदस्यका लागि माघ १२ गते हुने चुनावको तयारी अगाडि बढाएको पनि आयोगले जनाएको छ ।
राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुन २० मा सकिँदै छ । रिक्त हुन गइरहेका एक मनोनित बाहेकका १९ पदका लागि ३५ दिन अगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ ।
राष्ट्रिय सभाका सदस्य मध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन सदस्य रहेका छन् ।
पुस २५ देखि माघ ११ गतेसम्म उम्मेदवारले प्रचार प्रसारको अवधि प्राप्त गर्ने छन् ।
माघ १२ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जानकारी दिएको छ ।