काठमाण्डौ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य चयनका लागि मतदान सुरु भएको छ । कांग्रेसका नेता कुल बहादुर गुरुङले पहिलो मत खसाल्नु भएको छ । राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्रबाट मतदान सुरु भएको हो ।
बिहान ८ बजेदेखि नै मतदान सुरू हुने कार्यतालिका भए पनि मतपत्र छपाइमा ढिलाइ हुँदा साढे तीन घण्टा पछि मतदान सुरू भएको हो। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेस विधान अनुसार १६७ सदस्यीय कार्यसमिति मध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापति बाट मनोनीत हुने व्यवस्था छ ।
मतदान स्थल परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रतिनिधि बिहानै देखि लाइनमा उभिएका छन्। बिहान ८ बजे मतदानको समय तय गरिएकाले मतदाता बिहानै देखि लाइनमा बसेका हुन् ।
भृकुटीमण्डप परिसरमा पार्टी सभापति, उपसभापति, महामन्त्री, सह महामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवारले सांस्कृतिक, बाजागाजा सहित प्रचार–प्रसार गरेर मत मागिरहेका छन् । लामबद्ध प्रतिनिधिसँग उम्मेदवारले आफ्नै मत मागिरहेका छन् ।
आइतवार अपराह्न उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको समितिले रातभरि मतपत्र छपाइ लगायतका काम गरी मतदानको सम्पूर्ण तयारी गरेको जनाएको छ । मतदानका लागि तीन ठाउँमा मतदान केन्द्र स्थापना गरिएको छ। मतदाताको सङ्ख्या बढी भएकाले मतदानमा सहजताका लागि तीन ठाउँमा मतदान केन्द्र स्थापना गरिएको समिति सदस्य एगराज पोखरेलले जानकारी दिनुभयो ।
महाधिवेशन स्थलको राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृरशुभेच्छुक सङ्घ संस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ । यसैगरी भृकुटी मण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । भृकुटी मण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
भृकुटीमण्डपका दुई ठाउँमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिय सभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ । एकै पटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभागृह, भृकुटीमण्डप प्राङ्गण र भृकुटीमण्डपको हलमा गरी सयौँ बुथ राखिएको छ । यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ ।
सबै पद र क्लष्टर अनुसार विभिन्न २९ प्रकारका मतपत्र हुने बताइएको छ । सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको छ । निर्वाचन तालिकामा मतदान बिहान ८ देखि ५ बजेसम्म हुने उल्लेख गरिए पनि राति ८ बजेसम्म सम्पन्न हुने समितिको अनुमान छ ।
सभापति पदको मतगणना मतदान समाप्त भएपछि हुनेछ । सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र निर्वाचन सम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
सभापति बाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिको रोहवरमा मतपेटिका सिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालयमा सुरक्षित राखिनेछ । सभापति पद बाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुनेछ । यसैगरी मतदान स्थल ९भृकुटीमण्डपरराष्ट्रिय सभा गृह० भित्र मोबाइल फोन लिएर जान नपाइने आचार संहितामा जारी गरिएको छ ।
सभापति पदमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा शेखर कोइराला र कल्याण गुरुङ उम्मेदवार हुनुहुन्छ । उपसभापतिमा विजयकुमार गच्छदार, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी साह र पूर्ण बहादुर खड्का उम्मेदवार हुनुहुन्छ । यसैगरी महामन्त्रीमा डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, गगन कुमार थापा, प्रदीप पौडेल र डा राजाराम कार्की उम्मेदवार हुनुहुन्छ ।
सह महामन्त्रीमा भने मान बहादुर विश्वकर्मा, बद्री प्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, शेख वकिल, देवराज चालिसे, किशोर सिंह राठौर, रञ्जीत कर्ण, जीवन परियार, रामकृष्ण यादव, जीवन बहादुर शाही, विकास लामा, कमला पन्त, तेजुलाल चौधरी, भीष्मराज आङदेङ्वे, चेतराज बजाल, उमाकान्त चौधरी, गङ्गा सुनार, महेन्द्र यादव र डिना उपाध्याय उम्मेदवार रहनुभएको छ ।
कांग्रेस केन्द्रीय कार्य समितिका पदाधिकारी मध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सह महामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्गता भएका व्यक्ति बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानमा व्यवस्था छ ।
मुख्य प्रतिस्पर्धा देउवा र कोइराला बीच हुने निश्चित छ । कांग्रेस विधान अनुसार, सभापतिमा विजयी हुन ५० प्रतिशत मत कटाउनुपर्छ । कुनै उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेमा दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवार बीच दोस्रो चरणको प्रतिस्पर्धा हुन्छ ।
(रासस )