बुटवल -रुपन्देही उद्योग संघमा आवद्ध प्रकाशन तथा छपाई उद्योगीहरुको
भेला सम्पन्न भएको छ ।
भेलाले प्रकाशन तथा छपाई वस्तुगत समिति गठन गरेको छ ।
भेलालाई सम्बोधन गर्दै संघका अध्यक्ष माधव प्रसाद पौडेलले
संघको संस्थागत विकासमा बस्तुगत समितिहरुको सक्रियता र सहभागिताले महत्वपूर्ण भूमिका खेल्ने हुदा सदस्य उद्योगीहरुलाई सक्रिय हुन आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष बाबुराम बोहोराले वस्तुगत समितिहरु संघको जगको रुपमा रहेको हुदा त्यसलाई क्रियाशिल बनाउन आग्रह गर्नु भयो ।
वस्तुगत समिति गठन कार्यक्रमका संयोजक एवं संघका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न उद्योगीहरुको भेलालाई स्वागत गर्दै पराजुलीले वस्तुगत समिति गठनको उद्देश्य र समितिको जिम्मेवारी सम्बन्धमा जानकारी गराउनु भएको थियो । भेलाले प्रकाश अफसेट प्रेसका सञ्चालक प्रकाश खनालको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।
गठित समितिको सह संयोजकमा मयुर अफसेट प्रिन्टिङ्ग प्रेसका अर्जुन सापकोटा, सचिवमा शुभ वैदेही अफसेट प्रेसका अभिनय कुमार महतो र सदस्यहरुमा एस.के. अफसेट प्रेसका मधुसुदन
पोखरेल, सुपर एलजी डिजाइनका सञ्चालक गणेश पाण्डे, गोल्डेन लिफ क्रियसनका नर बहादुर राना र वेष्ट प्रिन्ट हवका सञ्चालक फर्सुराम न्यौपाने चयन हुनु भएको छ ।
भेलाले समितिको सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, कार्य समिति सदस्य राजु घिमिरे, पूर्व सह कोषाध्यक्ष गिरीराज गैरे, पूर्व कार्य समिति सदस्य बिष्णु प्रसाद तिवारी ,घनश्याम घिमिरे, हरि पहारी र उद्योगी लिलाधर
लुईटेल लाई चयन गरेको छ ।
कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष बिष्णु तिवारीले मुद्रण क्षेत्रको समस्याहरुको पहिचान गरी समाधानका लागि रुपन्देही उद्योग संघ र मुद्रण उद्योग महासंघ बीच सहकार्यमा जोड दिनुभयो ।