काठमाडौं । सरकारले उखुको किसान बिक्री मूल्य बढाउने भएको छ ।
उखुको यस वर्षको किसान बिक्री मूल्य सिफारिस
गर्ने तयारी सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
यसवर्ष उखुको मूल्य बढ्ने र यसै साता उखुको मूल्य तोक्ने गरी तयारी गरिरहेको मन्त्रालयका सह सचिव एवम् प्रवक्ता प्रकाश सञ्जेलले बताउनुभयो ।
यो वर्ष उखुको मूल्य तोक्ने कार्य विगतको भन्दा वैज्ञानिक र व्यवहारिक रहेको उहाको दावी छ
यो वर्ष उखुको मूल्य तोक्न उखुको पकेट क्षेत्र मानिने तराईका १० जिल्लामा अधिकृत स्तरको २ जनाका दरले प्रतिनिधि खटाइएको थियो ।
प्रत्येक जिल्ला बाट कम्तीमा पनि ३० भन्दा बढी अध्ययन नमूना
संकलन गरिएको मन्त्रालयले जनाएको छ ।
देशैभर बाट प्राप्त ३ सय नमूना लाई कृषि विभागले अध्ययन गरेको र यसैका आधारमा आज थप छलफल गरिने मन्त्रालयले जनाएको छ । गत वर्ष सरकारले उखुको प्रतिक्विन्टल न्यूनतम् मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको थियो ।
उखुको मूल्य ३८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च र मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रति क्विन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा थियो ।
गत वर्ष अघिल्लो वर्षको तुलनामा क्विन्टलमा जम्मा ८ रुपैयाँ मूल्य बढेको थियो । यो वर्ष उखुको मूल्य प्रति क्विन्टल ६ सय रुपैयाँ भन्दा बढी हुनुपर्ने नेपाल उखु उत्पादक महासंघको माग छ ।
अहिले १८ जिल्लामा साढे पाँच लाख किसानहरु उखु उत्पादनमा सक्रिय छन् । तर उखुको भुक्तानी समयमा नहुने र भुक्तानी लिनै समस्या हुने भएपछि उनीहरु पलायन हुँदै गएका छन् ।