काठमाडौं -नेपाली काँग्रेसकोे १४ औं महाधिवेशन भोलि शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेस महाधिवेशनमा सभापति देखि पदाधिकारीका लागि उम्मेदवारको टुंगो लगाउन कांग्रेसभित्रको संस्थापन र इतर दुवै समूहलाई हम्मेहम्मे परेको छ ।
संस्थापन पक्षले उम्मेदवार बारे छलफल गर्न भन्दै सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार आफ्नो समूहको बैठक राखेको थियो भने संस्थापन इतर पक्षले बिहान बत्तिसपुतली स्थित अनुपम फुडल्यान्ड र दिउँसो ठमेल स्थित नेता प्रकाशमान सिंहको निवासमा बैठक राखेको थियो ।
तर, संस्थापन र इतर दुवैतर्फको बैठक उम्मेदवारबारे कुनै टुंगो नै नलगाई बिना निष्कर्ष सकिएको हो । संस्थापन समूहको बैठकमा सभापतिले पार्टीका लागि पदाधिकारी बन्न चाहनेहरूको राय लिएका थिए भने इतर पक्षको बैठकमा सभापतिका उम्मेदवारमा दाबी गर्दै आएका नेतात्रय रामचन्द्र पौडले, प्रकाशमान सिंह र डा। शेखर कोइराला बीच सहमति खोज्ने प्रयास भएको थियो ।
संस्थापन पक्षको बैठकले भने पदाधिकारी र सदस्य बन्न चाहने उम्मेदवारको राय लिएपछि आवश्यक छलफल र निर्णय गरी नाम सिफारिस गर्ने अधिकार सातै प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरूलाई जिम्मा दिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।