About Contact
२१ आषाढ २०७९, मंगलबार
Close
बिज्ञापन
ढिँकी,जाँतो, घट्ट र कोल लोप हुने अवस्थामा

Darpanpost सोमबार, मंसिर २०, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

गलेश्वर। विद्युत् सेवा विस्तार भएसँगै गाउँका टोलटोलमा समेत मिल राख्न थालिए पछि कुटानी पिसानीका रैथाने प्रविधि ढिँकी, जाँतो,घट्ट र कोल म्याग्दीका ग्रामीण भेगबाट लोप हुने अवस्थामा पुगेका छन् । जिल्लाका प्रायः सबै गाउँमा विद्युत् सुविधा पुगेको र गाउँमा नै कुटानी पिसानी मिल सञ्चालन हुन थालेकाले ग्रामीण जीवनको पहिचान बोकेका रैथाने प्रविधि बाट निर्माण गरिने कुटानीपिसानीका परम्परागत साधन लोप हुने अवस्थामा पुगेका हुन् । आधुनिक प्रविधिका साधन प्रयोग गर्न सजिलो र समयको बचतका साथै मानिसमा बढ्दै गएको सुविधाभोगी प्रवृत्तिका कारण ग्रामीण जीवनको सौन्दर्यका रुपमा चिनिएका यस्ता रैथाने प्रविधि हराउँदै जान थालेका गाउँका वृद्धवृद्धा बताउछन् ।

घण्टौ लगाएर ढिँकी,जाँतो चलाएर कुट्ने, पिस्ने गर्नुभन्दा सस्तो दरमै मिलमा लगेर छोटो समयमा नै धेरै अन्न सजिलै सँग कुट्न, पिस्न सकिने भएकाले गाउँघर बाट समेत परम्परागत कुटानी पिसानीका साधन लोप हुँदै गएका बेनी नगरपालिका–२ बगरफाँटका वृद्ध बेदप्रसाद उपाध्यायले बताउनुभयो । उँहाले भन्नुभयो, “धान, गहुँ, कोदो, र पिठोका लागि ढिँकी, जाँतोकोे प्रयोग हुने गथ्र्यो तर अत्याधुनिक प्रविधिले परम्परागत ढिँकी, जाँतो प्रयोग गर्ने चलन हराइसक्यो ।” उहाँले भन्नुभयो, “ढिँकी जाँतोको के कुरा गर्ने, अहिले त गाउँका मिल समेत बन्द हुने अवस्थामा पुगिसके, अनुदान पनि पाइने साथै थोरै लगानीमा पनि घरमै राख्न मिल्ने भएकाले घर घरमै पनि मिल राख्न थालिएको छ ।”

जिल्लाका ग्रामीण क्षेत्रका पुराना केही घरमा ढिँकी, जाँतो देखिए पनि ती प्रयोगमा नआउदा अलपत्र अवस्थामा पुगेका छन् । बगरफाँटकी अर्का वद्धा याम कुमारी शर्माले आफूले जान्ने भएदेखि ५५र६० वर्षको उमेर सम्म ढिँकी जाँतोबाटै कुटानी पिसानी गरी अन्नको जोहो गर्दै आएको अनुभव सुनाउनुभयो । “अहिले जस्तो त्यति बेला टोल टोलमा र घरघरमा मिल र मिक्चर थिएनन्, धान कुट्न र गहुँ, कोदो, मकै लगायत अन्न पिस्न ढिँकी जाँतोको नै प्रयोग गर्नुपर्दथ्यो । राति खाना खाएर घरका अरु मान्छे सुतेपछि बुहारीहरु ढिँकी जाँतोमा अनि बिहान सबेरै उठेर पनि ढिँकी जाँतोमै हुन्थे । हाम्रो आदी जिन्दगी त ढिँकी जाँतोमा नै बितेको हो ।”

विगतमा गाउँका मानिस बर्खायाम सुरु हुनुभन्दा अगाडि निकै फुर्सदिला हुन्थे र एकै ठाउँमा भेला भएर पालैपालो एउटै ढिँकी जाँतोमा अन्न कुट्ने पिस्ने गर्दथे, तर त्यो पनि अहिले किबंदन्ती जस्तै बन्दै गएको ज्यामरुककोटकी देवकुमारी थापाले बताउनुभयो । बगरफाँटमा कुटानी पिसानीको मिल सञ्चालन गर्दै आउनुभएका बगरफाँट कार्की राइस मिलका सञ्चालक हरि कार्कीले ढिँकी जाँतो होइन गाउँ–गाउँमा पनि मिल सञ्चालनमा आएकाले अहिले त यो मिलमा कुटानी पिसानी गराउन आउनेको सङ्ख्या समेत घटेको बताउनुभयो ।

“आधुनिक कुटानी पिसानी मिलबाट समय र श्रमको बचत हुने भएपछि पुराना ढिँकी जाँतो पनि हराउँदै गए । मिल आएपछि समय र श्रम दुबैको बचत भएको छ” रोहोटेकी गृहिणी सविता घिमिरेले भन्नुभयो । अत्याधुनिक प्रविधिका गाउँगाउँमा मिल खुल्नु र अहिले गाउँघरमा ढिँकी जाँतो गर्ने मनिस पनि नहुने भएकाले यस्ता परम्परागत शैली र पहिचानका सामग्री लोपहुँदै जान थालेको उहाँको भनाइ थियो ।

परम्परागत रैथाने प्रविधिका साधन लोप हुनाका साथै एकापसको सौहार्दता, सामूहिकता र आत्मियता पनि हराउँदै गयो । सुविधाभोगी प्रवृतिका कारण पूर्खाको सीप र साधन त हराए हराए, आपसी सम्बन्ध पनि टाढिन पुगेको यहाँका बढापाकाले बताए ।

परम्परागत घुम्ती गोठ हराउँदै

परम्परागत रुपमा सञ्चालन हुँदै आएको घुम्ती गोठलाई किसानहरुले अझैसम्म पनि आय आर्जनको माध्यम बनाउन सकेका छैनन् । युवा पुस्ता वैदेशिक रोजगारीमा आकर्षित हुनु र पाको पुस्ताले घुम्ती गोठलाई आधुनिकीकरण गरी व्यावसायिक प्रयोजनको रुपमा विकास गर्न नसक्दा घुम्ती गोठ केबल परम्परा धान्ने र दिन कटाउने माध्यम मात्रै बन्दै आएको छ ।

म्याग्दीको धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिकाका गाउँमा घुम्ती गोठ राख्ने प्रचलन छ । यहाँका किसानले खेतबारी लाई मलिलो बनाउन र बाँझो पाखाको घाँस खुवाउन मात्र घुम्ती गोठ राख्ने गरेको धवलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । गाउँपालिकाले खेतीपाती सँगै घुम्ती गोठलाई आर्य आर्जनको माध्यम बनाउन विभिन्न कार्यक्रम ल्याए पनि किसानकै उदासिनताका कारण कार्यक्रम लाभदायी हुन नसकेको उहाँको भनाइ थियो ।

पछिल्लो समय भेडागोठ आय स्रोतको माध्यम बनेको पनि अन्य गाईभैँसी पालन गर्ने किसानले भने आय स्रोतको रुपमा विकास गर्न नसकेको अध्यक्ष पुनको भनाइ थियो । बाँझो जमिनलाई स्थानीयवासीले गाईभैँसी, गोरु र बाख्रा पाल्ने अस्थायी गोठको रूपमा प्रयोग गर्दै आएका छन् । घुम्ती गोठ खेतीपाती टाढा भएको जग्गामा अस्थायी टहरा बनाएर गाइबस्तु राख्ने खेतीपातीको लागि जग्गा मलिलो बनाउन मल थुपार्ने प्रचलनमा मात्र सीमित रहेको धवलागिरि गाउँपालिका– १ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले बताउनुभयो ।

टाढा खेतीपाती भएको जग्गामा मल बनाउन र वरिपरी बाँझो रहेको जग्गाको घाँस खुवाउन घुम्ती गोठ कायम रहेको वडाध्यक्ष झक छन्त्यालले जानकारी दिनुभयो । घुम्ती गोठ उक्त गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मराङ, मल्कवाङमा छ । त्यस्तै रघुगङ्गाको चिमखोला कुइनमङगले र अन्नपूर्णको शिख, पाउद्वार र दोबामा भेडा र गाईभैँसीको घुम्ती गोठ देखिन्छ । पछिल्लो समय गाउँगाउँमा सडक र वैदेशिक रोजगारीले खेतीपाती गर्ने र पुशपालनको घुम्ती गोठ कम हुँदै गएका छन् ।जनतालाई विकास र आय आर्जनसँग जोड्ने काम जनप्रतिनिधिको भए पनि युवा पुस्तालाई कृषि र पशुपालन तर्फ रुचि नभएका कारण परम्परागत पेशालाई व्यवसायिक बनाउन नसकिएको जनप्रतिनिधिले बताए ।

“युवाहरु वैदेशिक रोजगारका लागि मरिहत्ते गर्छन् । बूढा पुस्ता आफ्नै रैथाने तरिका परिवर्तन गर्न चाहँदैनन्,” धवलागिरि गाउँपालिका– ३ मुनाका पुर्म पुनले भन्नुभयोे । उहाँका अनुसार उन्नत तरिकाको खेतीपाती, व्यावसायिक पशुपालन र आयआर्जनमूलक कार्यक्रम मार्फत् यस गाउँको विकास गर्न सकिने प्रशस्तै सम्भावना छन् तर यी सबै सम्भावना केवल सपना मात्र भएका छन् । किनभने यहाँका बासिन्दा खाली जग्गालाई घुम्ती गोठको रुपमा बाहेक अरु कुरामा प्रयोग गर्न मान्दैनन् ।

“हामीलाई यसैमा आनन्द छ, वर्षामा पशुगोठ बुकी ९लेक० मा लैजान्छौं, हिउँदमा बेँसी झार्छौं, पशु पाल्छौँ, दूधमही खान्छौँ, यसैगरी यत्रो जीवन बाँचियो, अब मर्ने बेलामा किन नानाभाँति गर्नुप(यो रु” मुनाका बृद्ध पमबहादुर पुनले भन्नुभयो ।

कृषि र पशुपालनमा प्रशस्तै सम्भावना भएको यस ठाउँबाट स्थानीयवासीले लाभ लिन नसकेका वडाध्यक्ष पुन स्वीकार्नुहुन्छ । घुम्ती गोठलाई व्यवस्थित बनाई त्यहाँ व्यावसायिक कृषि गर्ने सोच भएपछि स्थानीयवासीको बेवास्ताका कारण त्यसो गर्न नसकिएको उहाँको भनाइ थियो ।

यहाँका युवा पुस्तालाई कृषि र पशुपालन तर्फ कुनै रुचि छैन । उनीहरु वैदेशिक रोजगारका लागि मरिहत्ते गर्छन् । बुढा पुस्ता आफ्नै रैथाने तरिका परिवर्तन गर्न चाहदैनन् । ‘‘गाउँपालिका र वडाले पैसा दिन्छ, अलि फरक तरिकाले पशुपालन गरौँ न भन्दा पनि मान्नुहुन्न’’ वडाध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार यहाँका बासिन्दाको आम्दानीको मुख्य स्रोत भनेकै वैदेशिक रोजगार हो । विदेशबाटीको मुख्य स्रोत भनेकै वैदेशिक रोजगार हो ।

(रासस _

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :-[email protected]

Web :- www.darpanpost.com