काठमाण्डौ – कांग्रेसको प्रदेश समितिको नेतृत्वका लागि भएको चुनावमा संस्थापन र संस्थापन इतर समूह बीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
चुनाव भएका ६ वटा प्रदेश मध्ये सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेश सभापतिमा शेरबहादुर देउवा तथा गण्डकी र लुम्बिनीमा संस्थापन इतर समूह विजयी भएको छ ।
प्रदेश–१ मा देउवाको समर्थन रहेका कृष्ण सिटौला समूहका उद्धव थापा दुई मतले विजयी हुनुभएको छ ।
सभापतिमा थापाले ८ सय ४४ मत र संस्थापन इतर पक्षका गुरुराज घिमिरेले ८ सय ४२ मत प्राप्त गर्नुभएको हो ।
यस्तै लुम्बिनी प्रदेशमा संस्थापन इतर समूहका अमर पुन विजयी हुनुभएको छ ।
रोल्पा जिल्लाका पूर्व सभापति समेत रहनु भएका पुनले सङ्घीय सांसद समेत रहनु भएका रुपन्देहीका भरत शाह लाई ८५ मतले पराजित गर्दै सभापतिमा विजयी हुनु भएको हो । पुनले ८ सय ५२ र शाहले ७ सय ६७ मत प्राप्त गर्नुभयो ।
उपसभापतिमा गुल्मीका भुवन प्रसाद श्रेष्ठले ८ सय ४७ र दाङका राजु खनालले ७ सय ९२ मत प्राप्त गरी विजयी हुनु भएको छ । खनालसँग पुन समूहका रुपन्देहीका अष्टभुजा पाठक पराजित हुनु भयो ।
महामन्त्रीमा नवलपरासीका विक्रम खनाल ८ सय ४४ र कपिलवस्तुका सुरेन्द्रराज आचार्यले ८ सय ३९ मत ल्याएर विजयी हुनु भएको छ ।
सह महामन्त्रीमा अर्घाखाँचीका विष्णु खनाल मुस्कान ८ सय ५९ र दाङका खगराज पाण्डे ७ सय ७६ मत ल्याएर निर्वाचित हुनु भएको छ।
यस्तै सह महामन्त्री महिला तर्फ प्युठानकी निमा गिरी ८ सय ३० मत प्राप्त गरी विजयी हुनु भयो ।
विजयी ८ जना पदाधिकारी मध्ये एक जना उपसभापति राजु खनाल बाहेक सबै अमरसिंह पुनले नेतृत्व गरेको संस्थापन इतर समूहको प्यानलका उम्मेदवार हुन् ।
यस्तै वाग्मती प्रदेश सभापतिमा इन्द्र बहादुर बानियाँ विजयी हुनुभएको छ ।
बानियाँले एक हजार ८५ र जगदीश्वर नरसिंह केसीले ९ सय २७ मत ल्याउनुभएको छ ।
त्यस्तै सुदूर पश्चिम प्रदेश सभापतिमा वीर बहादुर बलायर, कर्णालीमा ललितजङ्ग शाही र गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी हुनुभएको छ ।