एजेन्सी – भारतको दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट
’ओमिक्रोन’ को सङ्क्रमण देखिएको छ ।
दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनका अनुसार तान्जेनिया बाट दिल्ली फर्किएका ३७ वर्षीय व्यक्तिमा कोरोनाको नयाँ सङ्क्रमण
देखिएको हो । ती व्यक्तिको एलएनजेपी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
भारतमा यो ओमिक्रोन भेरियन्टका पाँचौँ ’केस’ हो । यसअघि
बेङ्गलोर (कर्नाटक) मा दुई, मुम्बईमा एक र गुजरातमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको थियो ।
अहिले सम्म १७ जनामा कोभिड परीक्षण पोजेटिभ पाइएको र उनीहरू लाई अस्पतालमा भर्ना गरिएको स्वास्थ्यमन्त्री जैनले बताउनुभयो ।
गएको हप्ता दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ओमिक्रोन
भेरियन्ट लाई लिएर चिन्ता व्यक्त गर्दै प्रभावित देशमा यात्रा प्रतिबन्ध लगाउन प्रधानमन्त्री नरेन्द्र मोदीसँग अपिल गर्नुभएको थियो ।
अहिले सम्म विश्वका २३ देशमा ओमिक्रोनको सङ्क्रमण पुष्टि
भइसकेको छ ।
नयाँ भेरियन्टका कारण बेलायत, युरोपेली सङ्घ, अमेरिका र क्यानडा जस्ता देशले दक्षिण अफ्रिका सहित केही अफ्रिकी देश बाट आउने उडानमा प्रतिबन्ध लगाएका छन् ।
गएको २६ नोभेम्बरमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई ’ओमिक्रोन’ नाम दिँदै यो नयाँ भेरियन्ट ’चिन्ताको विषय’ भएको जनाएको थियो ।