About Contact
१६ मंसिर २०७८, बिहिबार
Close
बिज्ञापन
सिकाइ प्रक्रियामा ICT को प्रयोग, समस्या र समाधानका उपाय

Darpanpost बिहिबार, कार्तिक ११, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

 

शिक्षण सिकाइ प्रक्रियामा प्रविधिका साधनको प्रयोगबाट शिक्षकको शिक्षणलाई सहजीकरण गर्न तथा विद्यार्थीको सिकाइलाई दिगो बनाउन र समग्रमा शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन सहयोग पुग्छ । प्रविधिका साधनका प्रयोगको फाइदा तथा महत्वका बारेमा अब चर्चा गरिरहनु आवश्यक पनि छैन । तर हामीसँग जुन स्तरको प्रविधिको पूर्वाधार छ, त्यो प्रविधिलाई प्रयोग गर्न सक्ने मानवीय र संस्थागत क्षमता छ, त्यसले हामीले राखेका सञ्चार प्रविधिको साधनको प्रयोग सम्बन्धी महत्वाकांक्षाहरू पूरा हुन अत्यन्त कठिन र चुनौतिपूर्ण भएको छ ।

ग्रामीण र शहरी तथा नीजि र सामुदायिक विद्यालयका बीचको सिकाइ स्तरमा भएको असमानता न्यूनीकरण गरी समग्र शिक्षाकै गुणस्तर वृद्धि गर्न सहायक साधनका रुपमा प्रयोग गर्न खोजिएको सूचना तथा सञ्चार प्रविधिका साधन प्रयोग गर्न नेपालमा उपलब्ध वर्तमान प्रविधि सम्बन्धी पूर्वाधारको गुणस्तर पर्याप्त नभएको अध्ययनहरूले देखाएका छन् । यसै सन्दर्भमा यो लेखमा शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोगका चुनौति र हामीले राखेका लक्ष्यसँग सम्बन्धित गरेर समिक्षा गरिएको छ ।

पृष्ठभूमी ;
प्रविधिका साधनमा र प्रयोगमा भएको पहुँचले व्यक्ति तथा संस्थालाई अगाडि बढ्ने अवसर दिनुको साथै उसले आफ्नो क्षमता र शक्ति वृद्धि गर्न सक्छ । समय यसरी परिवर्तन हुँदै अथवा प्रविधिले मानिसलाई यसरी अगाडि बढाउँदैछ कि सूचना प्रविधिको आधारभूत ज्ञान नभए व्यक्ति निरक्षर हुने संभावना छ । डिजिटल डिभाइड कम गर्ने प्रयास हुँदाहुँदै पनि बढ्दो क्रममा छ । विद्यालय शिक्षालाई गुणस्तरीय बनाउने, डिजिटल डिभाइड कम गर्ने प्रयास सरकारी स्तरबाटै भइरहेकै छन् ।

आर्थिक वर्ष २०६७ र ६८ को बजेट वक्तव्यमा प्रत्येक सामुदायिक विद्यालयमा इण्टरनेटको पहुँच पुर्याउने कार्यक्रम सञ्चालन गरिने छ भन्ने उल्लेख भएको थियो । सो पश्चातका हरेक वर्षका बजेटमा यससँग सम्बन्धित शिर्षक समेटिएको पाइन्छ । त्यसै गरी तीन वर्षीय अन्तरिम योजना २०६४ र ६५ देखि २०६६ र ६७ ले शैक्षिक विकासमा सूचना तथा सञ्चार प्रविधिको विकासलाई संस्थागत गदै लगिने भन्ने उल्लेख गरेको थियो र सो पश्चात सबै आवधिक योजनामा यो विषय समाहित छ । तर यी प्रयासहरूले अपेक्षित नतिजा दिएका छैनन् । आवधिक योजना तथा बजेटमा समाविष्ट यससँग सम्बन्धित कार्यक्रमहरू कार्यान्वयनका दृष्टिले महत्वाकांक्षी भएका छन् । यी प्रयास अप्रभावकारी हुनुको कारणमा उपयुक्त व्यापारिक वातावरण, सुदृढ मानवीय पूर्वाधार र दह्रो शासन व्यवस्था नहुनुलाई लिन सकिन्छ । जुन देशमा यस्ता समस्या छन् त्यहाँ सूचना सञ्चार प्रविधिको सकारात्मक प्रभाव देख्न सकिदैँन । सूचना प्रविधिको प्रयोगलाई अभिवृद्धि गर्नका लागि विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोग सम्बन्धी निर्देशिका २०६९ पनि जारी गरिएको छ ।

आर्थिक वर्ष २०७१ र ७२ देखि ७३ र ७४ को तीन आर्थिक वर्षमा मात्र शिक्षा विभाग मार्फत ५५०० भन्दा बढी विद्यालयमा करिब ५० करोड रकम सूचना प्रविधिको विकास र विस्तारका लागि खर्च गरिएको थियो । शिक्षण सिकाइमा यसलाई समाहित गर्न राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ मार्फत पाठ्यक्रमहरु विकास भएका छन् । शैक्षिक विकासका दीर्घकालीन योजना विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा विद्यालय क्षेत्र विकास योजनाले प्राथमिकतामा राखेका थिए र छन् । शिक्षामा सूचना प्रविधि गुरुयोजना २०७०, ब्रोडव्याण्ड नीति २०७१, सूचना तथा सञ्चार प्रविधि नीति, २०७२ पनि छन् । तर यी सबै प्रयासहरु हुँदा हुँदै पनि यसबाट अपेक्षित नतिजा हासिल हुन सकेको छैन र यसमा थुप्रै समस्या र चुनौति पनि छन् ।

शिक्षा र सूचना प्रविधि
शिक्षण सिकाइ क्रियाकलापमा सूचना तथा प्रविधिको प्रयोगमा जोड दिनु भनेको शिक्षकको भूमिका ज्ञानको हस्तान्तरणकर्ता बाट ज्ञान आर्जनमा सहयोग कर्ताको परिवर्तन हुन्छ । यो अवस्थामा शिक्षकमा प्रविधिको प्रयोग सम्बन्धी ज्ञानले मात्र पुग्दैन । प्रविधिका साधनको प्रयोगबाट संज्ञान सिकाइलाई जोड्दै सिकाइलाई अर्थपूर्ण बनाउनु र त्यसलाई विद्यार्थीको पूर्वज्ञानसँग जोड्दै त्यसको व्याख्या गर्न र विद्यार्थीलाई सिकाइको नेतृत्वकर्ता बनाइ सहयोगीको (constructivist teacher)   भूमिका निर्वाह गर्नु निकै चुनौतिपूर्ण छ ।

शिक्षकको भूमिकामा परिवर्तन आउँदा मूल्याङ्कन प्रणाली, अभिलेख प्रणाली, विद्यार्थीको सिकाइको गति र पाठ्यक्रममको कार्यान्वयन तथा मूल्याङ्कन प्रणालीमा पनि परिवर्तन आवश्यक छ । सूचना तथा सञ्चार प्रविधिको नामै समेत नसुनि बीसौँ वर्ष शिक्षण गरिसकेका हाल कार्यरत अधिकांश शिक्षकबाट ९थोरैले मात्र प्रयोग गरिरहेको० यसलाई प्रवर्धन गर्न समस्या देखिएको छ ।
नेपाल सरकारले परिभाषित गरेको शिक्षकको आठवटा सक्षमता मध्ये एउटा सूचना तथा सञ्चार प्रविधि रहेको छ । तर यो पक्ष शिक्षक तयारीको कोर्षमा र शिक्षक छनौट गर्ने प्रतिस्पर्धाको पाठ्यक्रममा आवश्यक मात्रामा समाविष्ट छैन । र समाविष्ट भएको सानो अंश पनि सैद्धान्तिक मात्र रहेको छ । शिक्षक तालिममा पनि यसलाई प्रभावकारी बनाउन सकिएको छैन । समावेश भएको अंश सैद्धान्तिक छ, सूचना प्रविधिको प्रयोगको सैद्धान्तिक ज्ञान दिनु र नदिनुमा कुनै तात्विक अन्तर हुँदैन किनकि सूचना प्रविधिको सैद्धान्तिक ज्ञानले कक्षा कोठामा कुनै सहयोग गर्दैन ।

सबैका लागि शिक्षा विश्वव्यापी अनुगमन प्रतिवेदन २०१५ ले उल्लेख गरे अनुसार डकार कार्यढाँचाले सबैका लागि शिक्षा कार्यक्रमका लक्ष्यसम्म पुग्न सूचना तथा सञ्चार प्रविधिको सम्भाव्यतामा जोड दिएको थियो । उक्त महत्वाकांक्षी लक्ष्यलाई गरिब राष्ट्रहरुमा भौतिक संरचनाको विकासमा ढिलो प्रगति, प्रविधिको ढिलो आत्मसाथ र शिक्षासँग सम्बन्धित सूचना तथा सञ्चार प्रविधिका् विश्वव्यापी समन्वयको अभावले चूनौतिपूर्ण बनाएको छ । युनेस्कोको CT Framework for Teachers 2011  का अनुसार शिक्षकमा technology literacy, knowledge deepening & knowledge Creation रहेको छ । तर नेपालको अधिकांश शिक्षकमा पहिलो

सक्षमता प्रविधि साक्षरता Technology literacy पनि विकास भइसकेको छैन ।

सूचना तथा सञ्चार प्रविधिले शिक्षण र सिकाइलाई प्रभावकारी बनाउन सक्छ भन्ने कुरा अध्ययनहरूले देखाएका छन् । यसो भएता पनि सूचना तथा सञ्चार प्रविधि र शिक्षा प्रणालीलाई मिलाएर लैजान कठिन देखिएको छ । इण्टरनेट र बिजुलीको अभावका कारण धेरै विद्यालयले कम्प्युटरको सहायताले विद्यार्थीलाई पढाउन सक्दैनन् । सूचना तथा सञ्चार प्रविधिको प्रभावकारिता तालिम प्राप्त शिक्षकमा र विद्यालयमा उपलब्ध प्रविधिका साधनको गुणस्तरमा भर पर्छ । मोबाइल फोनले भने सिकाइ सम्भव बनाउन सक्छन्, किनभने यी फोन चलाउन कम्प्युटरला जस्तो पूर्वाधारहरु चाँहिदैन । मोबाइल नेटवर्क तुलनात्मक रुपमा धेरै ठाउँमा हुन्छ र धेरै मोबाइल फोनहरूमा इण्टरनेट र भिडियो चलाउन सकिने सुविधा पनि हुन्छ । तर नेपालमा हाल उपलब्ध इण्टरनेटको गुणस्तर, मोवाइल सेवाको गुणस्तर, इण्टरनेटको शुल्कले मोबाइलबाट भिडियो चलाउने कुरा कल्पनै गर्न सकिदैँन ।

विद्यमान अवस्था ;
सरकार तथा केही गैरसरकारी संघ संस्थाहरूले विद्यालयहरूमा कम्प्युटर र इण्टरनेटको लागि सहयोग गरिरहेका छन् । यो खासगरी विद्यालयहरूको मागमा आधारित भएको पाइएको छैन र उपलब्ध गराइएका साधनहरूको पनि ज्यादै न्यून मात्रामा प्रयोग भइरहेको छ । यसका साथै कतिपय गैर सरकारी संघ संस्थाहरुले पुराना उपकरणहरु उपलब्ध गराउने गरेको पाइएको छ । विद्यालयहरुले पनि यस्ता पुराना सामग्री लिदैनौ नभनेर जे दिन्छन्, त्यो लिने गरेको पाइएको छ । सरकारी अनुदानमा खरिद गर्ने साधनमा कमजोर गुणस्तर हुने र ती सामग्रीहरू छिटै विग्रने तथा लामो समय मर्मत सम्भार नभई कामै नलाग्ने भएको पाइएको छ । विद्यालयमा उपलब्ध यस्ता प्रविधिका साधनको प्रयोग खासगरी प्रशासनिक कामका लागि र शिक्षकहरूले फुर्सदको समय विताउने माध्यमको रुपमा प्रयोग गरेको देखिन्छ । शिक्षण सिकाइ क्रियाकलापका सन्दर्भमा त यसको प्रयोग ज्यादै न्यून छ भन्दा पनि हुन्छ । यी साधनहरूको प्रयोगलाई बढाउने उपायको खोजीमा भन्दा समस्या देखाउने प्रवृति देखिन्छ । यसका लागि पूर्वाधार र जनशक्ति अभाव त छदैँछ, यसका साथै इच्छा शक्तिको पनि कमि छ ।

समस्या र समाधान ;
सामुदायिक विद्यालयहरूमा सूचना प्रविधिको प्रयोगलाई बढाई समग्रमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न थुप्रै प्रयासहरू गरिएका छन् । तथापि ती प्रयासबाट अपेक्षित नतिजा हासिल हुन सकेको छैन । यसको प्रभावकारी प्रयोगमा देखिएका समस्याहरु निम्न छन् स्

(क) प्रविधिका साधनको प्रयोग गर्न विद्यालयहरुमा इच्छाशक्तिको अभाव छ । बीसौ वर्षदेखि एउटा पद्धतिबाट शिक्षण गरिरहेको शिक्षकहरू यसमा परिचित हुन र यसलाई प्रयोग गर्नु चुनौतिपूर्ण पनि छ । साथ साथै आवश्यक पूर्वाधार र जनशक्तिको अभाव छ । यसका लागि विद्यालयहरूलाई मागका आधारमा र साधनको प्रयोगका पूर्वशर्तका आधारमा सामग्री तथा अनुदान उपलब्ध गराउने र आवश्यक जनशक्ति विकास गरिनु पर्छ ।

(ख) पूर्वाधार, उपकरणको गुणस्तर र त्यसको संरक्षण तथा मर्मत सम्भारका लागि प्राविधिक सहयोग उपलब्ध गराउने संयन्त्रको विकास गर्नुका साथै उपलब्ध गराइएका साधन र उपकरणको प्रयोग सम्बन्धमा अनुगमन गर्ने पद्धति विकास गर्नुपर्छ ।

(ग) प्रविधिका साधनलाई कक्षाकोठाको शिक्षण सिकाइमा प्रयोग गर्ने सन्दर्भमा नमूना सामग्री विकास, सघन प्रकारको अनलाइन पद्धतिबाट शिक्षक तालिम, विभिन्न web conference, webinar सञ्चालन गरिनुपर्छ ।

(घ) बढ्दो डिजिटल डिभाइड कम गर्नका लागि दुर्गम तथा ग्रामीण क्षेत्र लक्षित सहयोग तथा अनुदान कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

निश्कर्ष ;
विद्यालय तथा कलेजहरूमा इण्टरनेटको प्रयोगलाई वढावा दिँदै जाँदा यसैबाट बढेको अश्लिलता र हिंसा न्यूनीकरण कसरी गर्ने भन्ने पनि चुनौति भएको छ । किशोरीहरू इण्टरनेटका माध्यमबाट हिंसाको शिकार भइरहेका छन् । साइबर अपराध र साइबर बुलिङका समस्याहरू थपिएका छन् । प्रविधिको सुरक्षित प्रयोग र त्यसबाट उच्चतम लाभ लिने अभ्यास विकास भइनसकेको अवस्था एकातिर छ भने अर्कातिर हाल कार्यरत शिक्षकको ठूलो सङ्ख्या प्रविधिका साधनसँग परिचित छैन । प्रविधिले शिक्षणलाई सहयोग गर्छ भन्नेमा विश्वस्त छैन । विद्यार्थीलाई मोबाइलको प्रयोग गर्न दिनु हुँदैन भन्ने विचारमा अडिग छ । सरकारी प्रयासहरूले शिक्षण सिकाइमा प्रविधिको प्रयोगलाई जोड दिएका छन् तर विद्यालय तहमा प्रविधिका साधन प्रयोगको लागि पूर्वाधार, जनशक्ति र इच्छाशक्तिको पनि अभाव छ । सँगसँगै इण्टरनेट र यससँग जोडिएका प्रविधिको गुणस्तर कमजोर र खर्चिलो पनि छ ।

यादव चन्द्र बिष्ट( शिक्षा अधिकृत)
प्रतापपुर गाउँपालिका नवलपरासी पश्चिम

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राजनीतिक दलका महाधिवेशनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्छ – प्रधानमन्त्री देउवा
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत  ६१ जिल्लामा अधिवेशन सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com