तुलसी राम पौडेल ,स्याङ्जा ९ मेसस० -गण्डकी प्रदेश स्याङ्जा जिल्ला अन्तरगत बिरुवा गाउँपालिकाको आठौ गाउँसभा सोमबार सम्पन्न भएको छ । हिउँदे अधिवेशनको रुपमा समेत चिनिने उक्त गाउँसभा बिरुवा गाउँपालिकाको सभाहल बिरुवा बजारमा सम्पन्न भएको हो ।
गाउँपालिकाका अध्यक्ष चुन्न प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न उक्त गाउँसभाको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले गर्नु भएको थियो । गाउसभमा गाउपालिका उपाध्यक्ष देवी कुमारी थापाले आ ब ०७७-०७८ को आर्थिक ऐनको रु ४३ करोड ९० लाख बराबरको संशोधित अनुमान पेश गर्नु भएको थियो ।
गाउँसभामा बोल्दै बिरुवा गाउँपालिकामा अध्यक्ष चुन्न प्रसाद शर्माले बिरुवा गाउँपालिकाले सधैं जनताका माग र आवश्यकतालाइ प्राथमिकतामा राखेर काम गरेको बताउनु भयो ।
यसैगरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले यस आर्थिक वर्षमा गाउँपालिका कृषि , पूर्वाधार , स्वास्थ्य , शिक्षा र रोजगारी श्रृजना लाई प्रार्थमिकता दिई बजेट निर्माण गरिएको र उक्त बजेट कार्यान्वयनको चरणमा रहेको पनि बताउनु भयो । साथै उहाँले बजेट कार्यान्वनयको क्रममा सम्पूर्ण जनप्रतिनिधि तथा जनताहरूको रचनात्मक सहयोग आवश्यक पर्ने समेत बताउनु भयो ।
कार्यक्रममा वडा न ८ का वडाध्यक्ष प्रकाश थापा , वडा न ६ का वडाध्यक्ष कृष्ण क्षत्री , वडा न १ का वडाध्यक्ष युवराज केसी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । यस गाउसभाले बिरुवा गाउँपालिका वातावरण संरक्षण ऐन समेत अनुमोदन गरेको छ ।