काठमाण्डौ – पछिल्ला दिनमा साधारण शेयरमा लगानी
गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढेको पाइएको छ ।
चन्द्रागिरि हिल्स लिमिटेडले जारी गरेको साधारण शेयरमा मात्रै मागभन्दा बढी आवेदन गर्नुका साथै आवेदनले पनि नयाँ रेकर्ड कायम राखेको बिक्री प्रबन्धकले जनाएको छ ।
पछिल्ला दिनमा लगातार शेयर बजार उकालो लागेर नयाँ उचाइ कायम गरेका कारण पनि लगानीकर्तामा आकर्षण देखिएको हो ।
अहिले सम्मकै सबैभन्दा बढी आवेदन चन्द्रागिरि हिल्सको शेयरमा परेको छ ।
सो कम्पनीको साधारण शेयरमा १२ लाख ५१ हजार १० आवेदकले आवेदन गरेका छन् ।
कम्पनीले १५ करोड ३४ लाख ९ हजार एक सय रुपैयाँ बराबरको कूल १५ लाख ३४ हजार ९१ कित्ता साधारण शेयर बिक्री गरेको थियो ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार साधारण शेयरमा कूल दुई करोड ४४ लाख ७४ हजार ५३० कित्ताको लागि आवेदन परेको छ ।
यस्तै कूल दुई अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
साधारण शेयरमा लगानी गर्ने चाहना बढ्दै गएका कारण कूल १४ लाख ८० हजार ३५ जनाले मेरो शेयरको खाता
खोलेका छन् ।
यस्तै २४ लाख २८ हजार ३३४ जनाले हितग्राही खाता खोलेका छन् ।