काठमाण्डौ – पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत यो वर्षको पिपल्स च्वाइस अवार्ड राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले जितेकी छिन् ।
नेपाल खेलकुद पत्रकार सङ्घले हरेक वर्ष प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत यो वर्षको पिपल्स च्वाइस अवार्ड शाहीले पाएकी हुन् । उनले ३७ दशमलव २५ प्रतिशत मत प्राप्त गर्दै अवार्ड जितेकी हुन् ।
१३ औं सागमा ४ वटा स्वर्ण, २ रजत, ३ कांस्य जितेकी पौडी खेलाडी गौरिका सिंह यस वर्षको उत्कृष्ट महिला खेलाडी भएकी छन् ।
उनले १५० सीसीको पल्सर मोटरसाइकल पनि पाइन् ।
यस्तै
१३औं सागमा २ स्वर्ण जितेका मन्देकाजी श्रेष्ठ उत्कृष्ट पुरुष खेलाडी भएका छन् ।
उनले १५० सीसीको पल्सर मोटरसाइकल पाए ।
यस्तै नेपाली राष्ट्रिय महिला भलिबल टिमले पल्सर स्पोर्टस अवार्डमा टिम अफ द इयर अवार्ड प्राप्त गरेको छ ।
यस्तै दक्षिण एसियाली खेलकुदमा गल्फमा दोहोरो स्वर्ण जितेका सुवास तामाङ उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएका छन् ।
टेबल टेनिसका खेलाडी सिजरन शाह र गीता क्षेत्रीलाई पल्सर लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । यस्तै पारा क्रिकेट टोलीका कप्तान बास्केटबल र टेबल टेनिसका खेलाडी दिगमसिंह चेम्जोङ पारा एथलेटी अवार्डबाट सम्मानित भएका छन् ।
यसैबीच तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।
१३ औँ सागमा स्वर्ण पदक विजेता एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यलाई संयुक्त रुपमा यो वर्षको स्पेसल अवार्ड प्रदान गरिएको छ ।