इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडान भरेको केही समयमै सम्पर्कविहीन भएको विमान समुन्द्रमा खसेको आशंका गरिएको छ ।
श्रीविजया एयरको बोइङ ७३७ जाकार्ताबाट वेष्ट कलिमनतन प्राप्तको आकासमा पुग्दा सम्पर्कविहीन भएको थियो । २६ वर्ष पुरानो यो विमानमा ६२ जना सवार थिए । ५६ यात्रु थिए, जसमध्ये ३ शिशु र ७ बालबालिका छन् ।दुई पाइलट र चार चालक दलका सदस्य थिए ।
जहाजको ट्रयाकिङ गर्ने वेबसाइट फ्लाइट राडार टवेन्टी फोरका अनुसार जहाज १ मिनेटको अन्तरमा १० हजार फिट तल झरेको थियो । केही प्रत्यक्षदर्शीले जहाज आगोको मुस्लोसँगै खसेको बताएको बीबीसीले जनाएको छ । माछा मार्न पुगेका एकजना व्यक्तिले जहाज तिव्र गतिमा खसेको र पानीमा ठूलो आवाजमा विष्फोट भएको बताएका छन् ।यो विमान समुन्द्रमा खसेको आशंका गरिएको छ । समुन्द्रमा केही शंकास्पद शवशेषहरु पनि भेटिएको छ ।