काठमाण्डौ – कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुङ्गो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन् ।
आकर्षक रोजगारीको गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपाली कामदार लैजाँदै आएको थियो ।
परीक्षा कहिले गर्ने भन्ने टुङ्गो नलाग्दा परीक्षाको तयारी गरेका युवामा भने निराशा छाएको छ ।
कोरियाले प्रत्येक वर्ष भाषा परीक्षा उत्तीर्ण हुने नेपाली युवालाई त्यहाँ
रोजगारीको अवसर प्रदान गर्दै आएको छ ।
कोरियाले अझै पनि भाषा परीक्षा कहिले गर्ने भनेर टुङ्ग्याउन सकेको
छैन ।
यस्तै परीक्षा प्रणालीका बारेमा पनि निक्र्योल हुन सकेको छैन ।
कोभिड–१९ का कारण सन् २०२० मा पनि भाषा परीक्षा सञ्चालन हुन सकेन ।
गएको वर्ष भाषा परीक्षा सञ्चालन हुन नसके पनि यस वर्ष (सन् २०२१ मा) परीक्षा सञ्चालन गर्ने मौखिक जानकारी आएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
कोरियाले भाषा परीक्षा सञ्चालन गर्ने भने पनि कहिले र कसरी गर्ने भन्ने विषयमा अझै स्पष्ट पारेको छैन ।
यसघि सन् २०१२ मा पनि भाषा परीक्षा रोकिएको थियो ।
यद्यपि कोरियाले सन् २०२१ को पहिलो त्रैमासमै भाषा परीक्षा सञ्चालन
गर्ने तयारी गरेको बुझिएको छ ।
कोरियाले यसपटक देखि ‘कम्प्युटर बेस्ड टेस्ट’ (सिबिटी) परीक्षा लिने तयारी गरेको छ ।
यसअघि ‘पेपर बेस्ड टेस्ट’ (पीबीटी) परीक्षा हुँदै आएको थियो । यसपटक देखि पीबीटी नगरी सीबीटी परीक्षा गर्ने जानकारी आएको बुझिएको छ ।
कोरियाली पक्ष सीबीटी परीक्षाका लागि सफ्टवेर निर्माणमा जुटेको छ ।
सफ्टवेयरको परीक्षण गर्ने काम पनि भइरहेको छ । परीक्षा भवन निर्माणको काम पनि लगभग अन्तिम चरणमा पुगेको छ ।
कोरियाली टोली आएर अनलाइन परीक्षाको सम्भाव्यता हेर्ने काम
भइरहेको छ ।
अबदेखि पीबीटी परीक्षा नगर्ने कोरियाली पक्षले स्पष्ट पारिसकेको छ । दक्षिण कोरियाले सन् २०२१ मा विभिन्न १६ देशबाट ५२ हजार आप्रवासी कामदार लिने घोषणा गरेको छ ।