जनकपुरधाम । महोत्तरीको बर्दिबासमा बालिकाको बलात्कार पछि हत्या भएको भन्दै विरोधमा उत्रिएका स्थानीय माथि प्रहरीले गोली चलाएको छ ।
प्रहरीले चलाएको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा बर्दिवासकै श्याम कार्की, सञ्जय न्यौपाने र नाम खुल्न नसकेका अर्काे एकजना छन् ।
मंगलबार बिहान ७ बजेदेखि सुरु भएको प्रदर्शनका कारण यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहारदेखि हवाई फायर सम्म गरेको छ ।
दर्जनौं राण्ड अश्रु ग्यास प्रहार र हवाई फायर गरिएको स्थानीयले बताएका छन् ।
प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले ढुँगामुढा गरेपछि अश्रु ग्यास प्रहार तथा हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।
बर्दिबास १४ निवासी शहीद आलमकी ६ वर्षीया छोरी गुलाब खातुनको हत्या भएको छ ।
आइतबार साँझदेखि बेपत्ता भएकी उनको शव सोमबार राति १ बजेतिर घर नजिकैको खाली खेतमा फेला परेको छ ।
आक्रोशित स्थानीयले सडकमा बालिकाको शव राखेर ‘बलात्कारी लाई फासी दिनुपर्ने’ माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
स्थानीयले बालिकाको बलात्कार पछि हत्या भएको दावी गरेपनि प्रहरीले भने अनुसन्धानकै क्रममा रहेको भन्दै केही बताइसकेको
छैन ।
बालिकाको हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ घर भई बर्दिबासमा किराना पसल गर्दै आएका अरुणकुमार साहलाई पक्राउ गरेको छ ।
प्रदर्शनकारीले साहको बर्दिवास स्थित घरमा आगजनी समेत गरेका छन् ।