About Contact
२१ जेठ २०७७, बुधबार
Close
बिज्ञापन
हराउँदै हरेलो

Darpanpost बुधबार, भाद्र ०४, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

पोखरा । भदौ महिनाको पहिलो मङ्गलबार । विगतमा यो दिन कास्की र आसपासका जिल्लामा धान रोपिएका खेतका ठाउँठाउँमा विभिन्न अन्न राखी बाँधिएका मकैका खोस्टाको पोकालाई सिमली, गिँदरी वा पातीको हाँगोमा झुण्ड्याएर गाडिन्थ्यो ।

स्थानीयवासीले यसलाई हरेलो पर्वका रुपमा लिन्थे, सँगसँगै हरेलो गरिसके पछि धान रोप्न हुँदैन भन्ने जनविश्वास पनि कायम थियो । सामान्यतः भदौको पहिलो मङ्गलबारसम्म अधिकांश खेत रोपिसक्ने भए पनि कुनै कारणवश रोप्न बाँकी भएमा हरेलो सार्ने प्रचलनसमेत रहेको पोखरा महानगरपालिका–२९ पटनेरीका कृषक हर्कबहादुर नेपालीले जानकारी दिए ।

प्राचीन कृषि प्रणालीअन्तर्गतको हरेलो संस्कृति पछिल्ला वर्षमा भने लगभग लोप भइसकेको छ । यस दिन खेतमा विभिन्न अन्न मास, चामल, गहुँ, फापर, तोरी, जाँतो र ढिकीमा प्रयोग गरिएको खुर्किएको काठको टुक्रासमेत राखेर मकैको खोस्टामा बाँधेर पोको पारी लट्ठीमा भुण्ड्याएर खेतमा गाडिदिएमा वर्षायाममा रोपेको धानमा कटाहा ९मुसा० नलाग्ने, अन्न राम्रो उत्पादन हुने आदि जनविश्वास रहेको उनले बताए ।

उनका अनुसार घर वरपर लगाइने लहरे तरकारीलाई पनि मुसाले नकाटोस् भन्ने कामना गर्दै अन्नसहितको मकैको खोस्टामा बाँधिएको पोका झुण्ड्याउने प्रचलनसमेत छ । कतिपय युवा पुस्तामा यस संस्कृतिको जानकारी नहुनाका साथै कृषिप्रतिको बढ्दो अनिच्छा तथा विदेश पलायन लगायतका कारणबाट यो संस्कृति पछिल्ला वर्षमा लगभग हराइसकेको छ ।

हरेलो गरेमा धानमा मुसाले क्षति नपु¥याउने विश्वासका साथै यस संस्कृतिलाई धानको न्वारनका रूपमा समेत लिने गरिएको बूढापाकाहरू बताउँछन् । हरेलो गरेपछि धानको न्वारन कर्म पूरा हुने र त्यसपछि मात्रै यो धान पूजाआजामा प्रयोग हुने प्राचीन जनविश्वास कायमै रहेको अर्का कृषक हरिकृष्ण सुवेदीले जानकारी दिए ।

“पहिले पहिले हरेलो गरिसकेपछि परिवारमा खुशियालीसहित सेलरोटी, फुरौला, माछा मासुसहित दाल, भात, तरकारी, अचार जस्ता विभिन्न परिकार खाने र जोत्ने हलीलाई खुवाउने प्रचलन थियो”, उनले भने “पछिल्लो पुस्ताका लागि भने यो संस्कृति एकादेशको कथा जस्तै बन्दै गएको छ ।”
कृषिको व्यावसायिकीकरण बढिरहेका अवस्थामा टारी खेतमा कुनै कुनै ठाउँमा अहिले पनि काठे हलोले जोत्ने गरिए पनि अधिकांश स्थानमा काठे हलो विस्थापित भई ट्र्याक्टरबाट जोत्न थालिएको उनले बताए ।

कृषिको व्यावसायिकीकरण एवम् आधुनिकीकरणले पनि परम्परागत कृषिमा आधारित संस्कृति पछिल्ला समयमा लोप हुँदै गएको उनको भनाइ छ । यस क्षेत्रमा प्राचीनकालदेखि नै असार १५ मा रोपाइँ गरी हिलो खेल्ने तथा दही चिउरा खाने, साउन १५ मा खिर खाने, भदौको पहिलो मङ्गलबार हरेलो गर्ने, मङ्सिर १ गते धान थन्क्याउनका लागि खलो पुज्ने, नयाँ धान भित्र्याएपछि न्वागी खाने जस्ता कृषिमा आधारित विभिन्न संस्कृति कायम छन् ।

अघिल्लो पुस्ताबाट पछिल्ला पुस्तामा प्राचीन संस्कार एवं संस्कृति हस्तान्तरण हुन नसक्दा विभिन्न संस्कृति लोप हुँदै गएको बताउँदै सुवेदीले यिनीहरूको जगेर्नाका लागि सामाजिक रूपमा नै पहल थालिनुपर्ने आवश्यकता औँल्याए ।रासस

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
आजको राशिफल : वि.सं.२०७७ साल जेठ २१ गते । बुधबार । ईश्वी सन् २०२० जुन ०३ तारिख
मदाने गाउँपालिकाले कोभिड विशेष कृषि कार्यक्रम संचालन गर्दै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
:- [email protected]
Web :- www.darpanpost.com