About Contact
१४ माघ २०७७, बुधबार
Close
बिज्ञापन
आलेख: ढिकीजाँतोको महत्व बुझ्न थाले गाउँले

Darpanpost सोमबार, आषाढ १६, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

लमजुङ – बेँसीशहर नगरपालिका–२ नरुवाल पाखाथोककी ९२ वर्षीया लक्ष्मी रानाले आफ्नो जीवनका धेरै वर्ष ढिकी कुटेर र जाँतो पिनेरै बिताइन् । ढिकीमा कुटेको रैथाने धानको चालमको भात, ढिकीमै कुटेको काउनोको चामल, जाँतोमा पिनेको मकैको भात र कोदोको ढिँडोले बालबच्चाको पेट भरिन् । ढिकीमा कुटिएका र जाँतोमा पिनिएका तिनै चिजबिज खाएरै उनको परिवारले जीवन निर्वाह गरे । उनै वृद्धा लक्ष्मीलाई ढिकीजाँतोमा जोतिएका उतिबेलाका दिनहरु अहिले कथा जस्तै लाग्न थालेका छन् ।

उनीहरुका पालाको ढिकीजाँतो लोप हुँदै गएपछि गाउँघरका वृद्धवृद्धालाई ढिकीजाँतो कुनै बेलाका कथा जस्तै भएका हुन् । नरुवाल गाउँका उनी जस्ता धेरै आमाहरुको नाडीको बल घट्दै जाँदा गाउँघरमा कुटानी पिसानीका लागि आधुनिक मिलहरु भित्रिए । गाउँमा भित्रिएका तिनै आधुनिक मेशिन सँगै गाउँमा ढिकीजाँतो नै देखिन छाडिसकेको नरुवालका ९३ वर्षीय उदिन बहादुर राना बताउँछन् । उहिल्यै गाउँका घरैपिच्छे जसो ढिकी र जाँतो हुने र तिनको सहायताले चामल र पिठो बनाउने र खाने गरिएको उनी सम्झन्छन् । “हाम्रा पालामा सबैले घरमा ढिकी राख्थे, मकैको बेग्लै, कोदोको बेग्लै जाँतो हुन्थ्यो,” रानाले भने – ‘गाउँमा विकास आयो । धान कुट्ने र कोदोमकै पिन्ने मेशिन आयो । अ‍ैले केलाई चाहियो र ढिकीजाँतो र?”

विगतमा बिहान ३–४ बजेदेखि नै गाउँमा ढिकीजाँतोमा काम गर्ने भएकाले नरुवाल र आसपासका गाउँमा ढिकीको आवाज एकाबिहानै सुनिने ९० वर्षीय मिनबहादुर राना बताए । बुहारीचेलीले ढिकीजाँतो चलाएको आवाज, झिसमिसेमा भाले बासेको आवाज, जङ्गलमा वनभाले, च्याखुरा र चराचुरुङ्गी कराएको आवाज सुन्न पाइने सम्झँदै आजभोलि त्यस्तो मौलिकता हराइसकेको उनी बताउँछन् । ढिकीजाँतोमा कुटानी पिसानी गरिएका उतिबेलाका खानाको स्वाद अहिले पनि आफ्नो जिब्रोमा झुण्डिइरहेको रानाले बताए ।

यस गाउँमा करीव १० वर्ष अघिसम्म प्रत्येक घरमा ढिकी र जाँतो थियो । विद्युतीय मेशिन आएसँगै विस्तारै विस्तारै घट्दै जाने क्रममा दुई वर्ष अघिबाट गाउँमा दुई जनाको घरमा मात्रैे ढिकीजाँतो रहेको स्थानीयवासी सावित्री रानामगरले बताइन् । उनले भनिन् – “गाउँमा धान कुट्ने मेशिन आयो । सबै खुसी बन्न थाले । ढिकी र जाँतोमा धान, मकै कुट्ने र पिन्ने काममा समय लाग्ने र दुःख समेत धेरै गर्नु पर्ने भएकाले गाउँलेले विस्तारै यस्ता परम्परागत सामग्रीहरुको प्रयोग गर्न छाडे ।” विद्युतीय मिलमा एक मुरी धान कुट्न करीव आधा घण्टा लाग्छ तर, ढिकीमा बिहानभरिमा पनि धान कुटी सकिँदैन । पुराना पुस्ता काम गर्न नसक्ने भए । नयाँ पुस्ताले परम्परागत ढिकीजाँतोको बेवास्ता गरी छिटोछरितोका लागि धान कुट्ने विद्युतीय मेशिन रोजे । प्रत्येक घरमा पहिला ढिकीजाँतो हुन्थ्यो तर, अहिले विस्थापित गरे । कसैले मान्छे ९खेताला० लगाएर त कसैले आफैंले ढिकी, जाँतो घरबाट उप्काएर फ्याँके । अहिले तिनै नयाँ पुस्तालाई पछुतो लाग्न थालेको छ । विद्युतीय मेशिनमा भन्दा स्वाद र स्वास्थ्यका लागि समेत ढिकी र जाँतोमा कुटेको र पिनेको धान, मकै राम्रो हुने स्थानीयवासी यामबहादुर आलेमगरले बताए ।

त्यति मात्र नभई गाउँमा नरुवल मगर होमस्टे सञ्चालनमा आएपछि पर्यटकलाई खुवाउन समेत ढिकी र जाँतोमा कुट्ने पिन्ने धान, कोदोको पिठोबाट बनेका सेलरोटी खुवाउन थालिएको आलेमगरले बताए । उनले भने – “भात स्वादिलो हुन्छ । सेलरोटी पोल्न मेशिनमा कुटेको भन्दा धेरै राम्रो हुन्छ । पहिला हामीले नबुझ्दा घरमै भएको परम्परागत ढिकीजाँतो फ्याक्यौं । अहिले गाउँबाटै लोप भइसक्यो । बल्ल हामीलाई चासो लाग्न थालेको छ ।”

उनले भने – “गाउँमा बयालीस घरमध्ये फुलमाया र मीनाको घरमा मात्रै ढिकीजाँतो बाँकी छ ।” अहिले यही ढिकीजाँतोमा सबै गाउँलेहरुले धान, मकै, कोदो, गहुँ जस्ता अन्नहरु कुट्ने पिन्ने गर्ने गरिएको स्थानीयवासी देवी आलेले बताइन् । अहिले ती ढिकीजाँतोमा स्थानीय बासिन्दा पालो कुरेरै अन्न कुट्ने पिन्ने गर्दछन् ।

गाउँमा तीन वटा विद्युतीय मेशिन कायमै रहे पनि नयाँ पुस्ताले परम्परागत ढिकीजाँतोको महत्व बुझ्दै जाने क्रममा चासो दिन थालेको घरबास कार्यक्रम ९होमस्टे० सञ्चालक समितिका अध्यक्ष यमबहादुर आलेले बताए । उनले भने – “हामीले करीव सात आना जग्गामा मगर सङ्ग्रहालय निर्माण गर्ने तयारीमा छौँ अनि, सङ्ग्रहालयमै एउटा ढिकीजाँतो निर्माण पनि गर्छौं । गाउँलेले पनि प्रयोग गर्छन् । पछिका पुस्तासम्म पनि जीवित रहन्छ ।” यो सङ्ग्रहालयसहित ढिकीजाँतो निर्माणका लागि करीव २० लाख रुपैयाँ आवश्यक पर्ने उक्त समितिले जनाएको छ ।

त्यस्तै, बेँसीशहर नगरपालिका–६ चनौटे गाउँमा केही वर्षअघिसम्म प्रत्येक घरमा ढिकी थियो । जाँतो दुई थरी हुन्थ्यो । एक थरी मकै पिन्ने र अर्को थरी कोेदो पिन्ने । “बिहानै सबैको घरमा ढिकीजाँतो चलाएको आवाज सुनिन्थ्यो तर, अहिले गाउँबाट लोप भइसक्यो,” स्थानीयवासी कृष्ण आलेमगरले बताए । उनले भने – “खानलाई पनि स्वाद हुन्थ्यो, त्यो बेला सम्झिँदा अहिले पनि रहर लाग्छ । मेरै घरमा पनि केही वर्षअघिसम्म थियो । गाउँमा विद्युतीय मेशिन आएपछि ढिंकीजाँतोको प्रयोग हरायो ।” गाउँघरमा फेरि परम्परागत ढिकीजाँतोको निर्माण गर्नुपर्ने उनको सुझाव छ ।

जिल्लाको उपल्लो भेग सिउरुङ, घलेगाउँ, भुजुङ, ताघ्रिङ, घेर्मु बाहुनडाँडा, पूर्वी भेगका इलामपोखरी, विचौर, दूधपोखरी लगायतका गाउँठाउँमा भने पिसानीका लागि पानीघट्टको प्रयोग गरिन्थ्यो । कोदो, मकै, चामलको पिठो, गहुँ, जौ, फापड जस्ता अन्नवाली पानीघट्टमा पिसेर पिठो बनाइने सिउरुङका उमरबहादुर गुरुङले बताए । पानीघट्टमा पिनेको पिठोको रोटी, ढिंडो, खोलेको स्वाद निकै तिख्खर हुने गुरुङले बताए । अचेल पानीघट्ट, ढिकीजाँतो जस्ता परम्परागत प्रविधि लोप हुँदै गएकामा उनी चिन्ता व्यक्त गर्छन् ।

भावी पुस्तालाई देखाउन पनि परम्परागत ढिकीजाँतोको संरक्षणमा जुट्नु पर्ने समाजका ज्येष्ठ नागरिकहरु बताउँछन् । ढिकीजाँतो कुटानी पिसानीका सामग्री मात्रै नभई नेपाली समाजको मौलिक संस्कृति र जनजीवनको एक अभिन्न अङ्ग पनि भएको उनीहरु बताउँछन् । रासस

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
तीन दिने आधारभूत पत्रकारिता तालिम बाकेमा सुरु
प्रधानमन्त्रीद्वारा  भिडियो कन्फरेन्स मार्फत खोप अभियानको उद्घाटन

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com