काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन। तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो । जब कि उनले संसद सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका छन । अध्यक्षज्यूको गाडी अधिकांश समय संसद सचिवालयकै चालक सलामसिंह लामाले चलाउँछन। अध्यक्षकै सेवाका लागि भनेर लामालाई तोकिएको छ ।
तर सचिवालयबाट हरेक महिना निजी सवारीचालक शीर्षकमा अध्यक्षकै खातामा रकम गइरहेको छ, संघीय संसद सचिवालय स्रोतले भन्यो, अध्यक्षज्यूले चारै जनाको पारिश्रमिक आफ्नै खातामा राखिदिन भनेकाले त्यसै गरेका हौँ । पुसदेखि चैत सम्मको उनीहरूको पारिश्रमिक पनि उहाँकै खातामा जम्मा भएको छ । प्राप्त प्रमाणअनुसार तिमिल्सिनाले प्रतिचालक मासिक १८ हजार तीन सय ४० र प्रतिकार्यालय सहयोगी १६ हजार दुई सय ३० रुपैयाँ तलब बुझिरहेका छन। चार जनाको कुल तलब मासिक ६९ हजार एक सय ४० रुपैयाँ हुन्छ । यो समाचार कृष्ण कट्टेलले नयाँ पत्रिकामा लेखेका छन ।