माघ २९ । भारतको उडिसामा जारी हिरो गोल्डकप फुटबल प्रतियोगिता अन्तरर्गत सोमबार राति भएको खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले हराएको छ। भारतको भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको खेलमा भारतलाई हराउने क्रममा नेपाली खेलाडी सावित्रा भण्डारी नायक बनिन्। उनले पहिलो हाफको पाँचौ र सातौं मिनेटमा गोल गरिन्। पहिलो हाफमा २–० ले अगाडि रहेको नेपालले त्यसपछि थप गोल गर्न सकेन। दोस्रो हाफको ८४औँ मिनेटमा भारतका लागि रत्नाबाला देवीले फ्रीकिकमार्फत गोल गरेर खेलमा फर्किने कोशिस गरेपछि पर्याप्त भएन। नेपाल आफ्नो पहिलो खेलमा म्यानमारसँग ३–० गोल अन्तरले पराजित भएको थियो। नेपालले अर्कोखेल बुधबार इरानसँग खेल्ने छ। प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान रहेका छन्। साफ र ओलम्पिक छनोटको तयारीस्वरुप भारतले प्रतियोगिताको आयोजना गरेको हो।