About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
‘भ्यालेन्टाइन डे’ मा डेढ करोडको गुलाफ, त्यो पनि भारतकै

Darpanpost शुक्रबार, माघ ११, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । यस वर्षको प्रणय दिवसका लागि एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ। माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ।

गत वर्ष एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो। बजारमा माग बढेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा धेरै परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ। यस दिवसमा खपत हुने दुई लाख स्टिममध्ये एक लाख ६० हजार बाहिरी देशबाट ल्याइने र ४० हजार स्टिम नेपालको उत्पादन रहेको छ।

एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार गुलाफको अन्तर्राष्ट्रिय रूपमा नै मूल्य बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य वृद्धि हुनेछ। नेपालमा वार्षिक रु २० करोडको गुलाफ फूलको कारोबार हुने गरेको छ। आन्तरिक उत्पादन २० प्रतिशत र बाह्य देशबाट आयात गरिने ८० प्रतिशत रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए। आयात गरिएका गुलाफमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा ६० प्रतिशत खपत हुने एशोसिएसनले जनाएको छ।

गत वर्ष प्रतिगुलाफ ४० देखि ८० रूपैयाँ सम्म तिरेर उपभोक्ताले खरिद गरेका थिए। यस वर्ष ५० देखि १०० सम्म पर्ने हुँदा गत वर्षको तुलनामा यस वर्ष १५ प्रतिशतसम्म मूल्यवृद्धि हुने पनि एशोसिएसनले जानकारी दिएको छ।

पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ। प्रणय दिवस फेब्रुवरी १४ तारिखमा पर्दछ तर उक्त दिनभन्दा एक हप्ता अघिदेखि नै यसलाई मनाउने प्रचलन रहेको छ। प्रेमको प्रतीक मानिले रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई दिएर मनाउने गर्दछन्।

नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ। फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ।

गुलाफको व्यावसायिक खेती गरिने जिल्लामा काठमाडौं उपत्यकाका तीन र काभ्रेपलाञ्चोक रहेको छ भने अन्य जिल्लामा यसको खेती विस्तार हुने क्रम रहेको छ। व्यावसायिकरूपमा गुलाफका ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ। यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन्। नेपालमा लगभग १५३ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन्। विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ।

यस वर्षको तिहारका लागि भारतबाट रु ३० लाख बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइएको थियो। तिहारमा मात्रै एक करोड फूलको कारोबार हुने गर्दछ । यस पटकको तिहारमा भारतबाट अत्यन्तै थौरै मूल्यको माला आयात गर्ने तयारी रहे पनि माग बढेकाले फूलको माला आयातमा वृद्धि गरिएको थियो।

गुलाफबाहेक अन्य सजावट र तिहारमा प्रयोग गरिने फूल अहिले स्वदेशमै ९० प्रतिशत उत्पादन हुन थालेकाले १० प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ। यसअघिका वर्षमा १८ प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो।

नेपाली उत्पादन र आयात गरिएको गरी गत वर्ष रु एक अर्ब ८५ करोडको फूलको कारोवार भएको थियो। तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वार्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ।

तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाफ आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ। अष्ट्रेलिया र मलेशियामा धेरै नेपाली बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताए।
रासस

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com