पर्वत । पर्वतको कुश्मामा सञ्चालन भैरहेको ह्याण्डबल खेल सम्बन्धी साताब्यापी प्रशिक्षण कार्यक्रम समापन भएको छ । औपचारिक कार्यक्रमका बीच तालिमको समापन गर्दै प्रमुख अतिथि तथा नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले ह्याण्डबल खेलको क्रेज देशव्यापीरुपमा बढिरहेको बताउँदै यो खेलले व्यक्तिको व्यक्तित्व, नेतृत्व र शारीरिक तन्दुरुस्ती राख्न मद्दत गर्ने भएकाले विद्यार्थी जीवनबाटै यस खेलमा लाग्नुको विशेष महत्व हुने कुरामा जोड दिए। नेपाल ओलम्पिक कमिटिका सदस्य समेत रहेका गुरुङले खेलका माध्यमबाट समाज र देशको सेवा गर्न तल्लीन भएर लाग्नुपर्ने र तालिममा लिएको ज्ञान सीपलाई निरन्तर अभ्यासबाट निखारपन ल्याउनुपर्ने कुरामा सजग रहन प्रशिक्षार्थीहरुलाई ध्यानाकर्षण गराए ।विदेशी प्रशिक्षक झिकाएर जिल्लास्तरमा सात–सात दिनको तालिम चलाउनु चानचुने काम होइन भन्दै प्रमुख अथिति गुरुङले तालिमको प्रभावकारी तारतम्य मिलाएकोमा जिल्ला ह्याण्डबल संघको प्रशंसा गरे । गुरुङले जिल्ला ह्याण्डबल संघ पर्वतले निकट भविश्यमा आयोजना गर्ने विद्यालयस्तरीय ह्याण्डबल टुर्नामेन्टका लागि आवस्यक ट्रफी, मेडल र प्रमाणपत्र नेपाल ह्याण्डबल संघले सहयोगस्वरुप उपलब्ध गराउने पनि जानकारी दिए।
तालिमको समापन समारोहमा बोल्दै जिल्ला तेकान्दो संघका अध्यक्ष तथा नमुना आवासीय माविका प्राचार्य इन्द्रमान खत्रीले अरु खेलको तुलनामा ह्याण्डबल खेलले सबैजसो खेलाडीलाई सक्रिय बनाउने तथा दर्शकहरुलाई पनि मनोरञ्जन प्रदान गर्ने भएकाले ह्याण्डबलप्रति पछिल्लो समयमा सबैको ध्यान पुगेको बताए । उनले अब हरेक विद्यालयले आफ्ना छात्रछात्राहरुलाई ह्याण्डबल खेल्ने बातावरण उपलब्ध गराउनुपर्ने खाँचो समेत औंल्याए ।शिवालय माविका प्रधानाध्यापक भुपेन्द्र चपागाईले खेल, अनुशासन र शिक्षा एक अर्काका परिपूरक भएकाले विद्यालय शिक्षाका साथसाथमा खेलकुदलाई पनि अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिँदै साना–ठूला सबैले खेल्न मिल्ने ह्याण्डबल खेललाई अब जिल्लाव्यापी बनाएर सबै विद्यालयमा खेल्ने वातावरण बनाउन आग्रह गरे ।जिल्ला ह्याण्डबल संघ पर्वतका अध्यक्ष राजेन्द्र पहाडीले आफू ह्याण्डबलको पूर्व खेलाडी भएका कारणले पनि जिल्लामा हराउँदै गएको ह्याण्डबल खेललाई पुनर्जागृत गर्न तालिमको आयोजना गरिएको जानकारी दिए।