नवलपुर, १६ कात्तिक ।
नवलपुरको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा जारी राइनो सरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आज(शुक्रबार)को खेलमा न्युरोड टिम एनआरटी विजयी भएको छ ।
राईनो रंगशाला कोल्हुवामा आज(शुक्रबार) सरस्वती युथ क्लब र न्युरोड टिम एनआरटी बिच भएको खेलमा सरस्वती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटीे बिजयी भएको हो । खेलको पहिलो हाफको ३० औं मिनेटमा १९ नम्बरका डिकेस खड्किले पहिलो गोल गर्दै एनआरटी लाई अग्रता दिलाए भने पहिलो हाफकै अन्तिम समय अर्थात ४५ औं मिनेटमा राजेश परियारले टिमका लागि दोश्रो गोल गर्दै अग्रता दोब्बर पारेका थिए । खेलको दोस्रो हाफमा सरस्वतीले आक्रमक खेल प्रस्तुत गरेको थियो । दोश्रो हाफको दोस्रो मिनेटमै तिर्थ बस्नेतको गोलबाट सरस्वती क्लब खेलमा फर्कने प्रयास गरेपनी हार टार्न सकेन । भोलि(शनिबार) को खेल बिरगंज युथ एकेडेमी र कास्की ११ बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विभागीय टिम एपिएफ, नेपाल पुलिस क्लब र ए डिभिजनका ६ टिमसहित १२ टिमको सहभागिता रहेको आयोजक नन्द–भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी दिए । प्रतियोगिता अन्तर्गत १८ गते च्यासल युथ क्लव र व्वाइज युनियन क्लव, १९ गते नेपाल पुलिस क्लव र सी.एम.जी. संकटा भिड्नेछन् । यस्तै २६ गते एपीएफ क्लब र मनाङ–मर्स्याङ्दी क्लवबीच हुने प्रचार–प्रसार सयोजक बिष्णु अधिकारीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । सेमीफाईनलमा पुग्ने २ टिमलाई म्याच मनी १ लाख रुपैयाँ दिईने आयोजकले जनाएको छ ।