साउन १२, पर्वत । म्याग्दी, बागलुङ हुदै पर्वत जिल्लाको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । कालीगण्डकीको मुहान रहेको मुस्ताङको तल्लो भागदेखि म्याग्दीको उत्तरी क्षेत्रमा अबिरल बर्षा भएका कारण पानीको बहाव बढेको हो ।
वर्षाले बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दाहरू चिन्तित भएका छन् । कालीगण्डकीको सतह बढेपछि तटीय क्षेत्र, नदी आसपासका क्षेत्रमा दाउरा संकलन गर्न जानेहरूलाई सचेत रहन जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रशासन कार्यालय म्याग्दीले आग्रह गरेका छन् । नदीमा पानीको बहाव बढेसँगै साविकको धौलागिरी अञ्चलको मुस्ताङ, म्याग्दी र पर्वतको तटीय क्षेत्रमा उच्च जोखिम हुने गरेको छ। त्यसमा पनि सबैभन्दा बढी जोखीम कालीगण्डकी नदीको किनारमै रहेको म्याग्दीको पारी बेनी र पर्वतको वारी बेनी तथा पर्वत र बागलुङको सिमाना मालढुंगामा रहेको माझी बस्तीसहित बजार बढी जोखिममा छन् ।
तटीय क्षेत्र र नदी आसपासमा देखिएका सर्वसाधारणलाई प्रहरीले सचेत बनाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए । जोखिमपूर्ण तरिकाले दाउरा संकलन गर्नेलाई समेत निरुत्साहित गर्न प्रहरीले ध्यान दिइरहेको उनको भनाइ छ।