About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
अशोक दर्जीलाई किन ‘सेन्सेसनल’ बनाइँदैछ ?

शिव मुखिया शुक्रबार, साउन ०४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

विश्वकप फुटवल क्लाइमेक्समा नपुगेको, असारे झरीले भक्तपुर नडुबाएको र मार्सी चामलले पब्लिसिटी नपाएको भए निसन्देह ‘अशोक दर्जी प्रसंग’ले डढेलो लगाउने थियो । यद्यपि अहिले भर्चुअल संसारमा भित्रभित्रै यसको आगो भने सल्किएकै छ ।

हिजोसम्म यो प्रसंगको ग्राफ जुन रफ्तारमा उक्लिएको थियो, आज त्यो बक्ररेखामा दौडन थालेको छ । यसको आयतन र आयम रबरजस्तै जता पनि, जसरी पनि तन्किन र तन्काइन थालिएको छ । एउटा अवोध बालकलाई मियो बनाएर किन आरोप-प्रत्यारोप, चर्काचर्की, पाखुरा सुर्कासुर्की चलिरहेको छ त ?

एकातिर, अशोक दर्जीलाई पेवा बनाउने र त्यही टेकोमा उभिएर सेलिब्रेटी बन्ने उन्माद । अर्कोतिर अशोक दर्जीमाथि ‘सहानुभूति’ पोखाएर त्यसबाट द्रव्यलाभ लिने दाउपेच । यी दुईको घर्षणबाट राप निकालेर त्यसको न्यानो ताप्ने मनासय । अनेकथरि मनोकांक्षाको गुरुत्व बलले पैदा गरेको तुफान हो, यो ।

यही मेसोमा ‘अशोक दर्जीले यसो गरे’, ‘अशोक दर्जीले उसो गरे’ भनी बरमाझियाका पेडा दोकानले झैं प्रचार शैली अपनाउनेहरुको झुण्ड पनि कम्ता चलायमान छैनन् ।

हडबडमा गडबड

झापा, दमकको सडकतिर गीत गाउँदै हिँड्दा, कसैले युट्युवमा भिडियो बनाएर अपलोड गरिदिदाँ, पहिलो गीत रेकर्ड हुँदा, सामाजिक सञ्जालभरि छ्यापछ्प्ती छाउँदा, विदेशका कन्सर्टहरुको निम्तो पाउँदासम्म सबै कुरा ठिकठाक थियो । तर, गडबड त्यही विन्दुमा पुगेपछि भयो, जब अशोकका नाममा द्रव्य मिल्न थाल्यो ।

अशोक दर्जी ब्रान्डिङ भएसँगै हौसिएका उनका सारथीहरुले घर निर्माण गरिदिने उद्घोष गरेपछि देश-विदेशका मनकारीहरु पग्लिए । उनीहरुले अशोकको नाममा पैसा पठाइदिए । घर निर्माण सुरु भयो । यही मोडमा आएर ‘अशोक दर्जी प्रसंग’ ट्वीस्ट भयो ।

अशोक को हुन्, के थिए, के गरे, के भए ? यी कुरा असंख्यौं युट्युबर्सले केस्रा-केस्रा केलाइसकेका छन् । भन्न बाँकी भनेको अशोक दर्जीको नाममा जसरी सौदाबाजी भइरहेको छ, त्यसको त्यान्द्रो कहाँ-कहाँ कसरी गाँठो परेको छ ?

नियमित आकस्मिकता

अशोक दर्जीले सडक पेटीमा बसेर लय हालेका एक्का-दुक्का श्रव्यदृश्य सामाग्री सामाजिक सञ्जालमा छाए । यो कुनै आश्चर्यको बात थिएन । सामाजिक सञ्जालको बिगबिगी रहेको अहिलेको अवस्थामा यस्ता ‘दुर्लभ/रोचक/अर्ग्यानिक’ कन्टेन्टको उच्च डिमान्ड हुने नै भयो ।

अब अशोकको जीवन उस्तै रहेन । कैलोमैलो लुगा लगाएर सडक पेटीमै गाइरहेका उनी आफैले भेउ नपाई ‘सेलिब्रेटी’ भइसकेका थिए । कति पनि लाज नमानी तिख्खर स्वरमा खिपेर भाका हाल्ने उनलाई गायक तथा संगीतकार टंक बुढाथोकीले काठमाडौं ल्याए । गीत रेकर्ड गराइदिए, ‘मन बिनाको धन ठूलो कि, धन बिनाको मन ।’

गीत रेकर्ड भएलगत्तै म्युजिक भिडियो बनाइयो । सडकमा धुस्रेफुस्रे हिँड्ने अशोक सुकिला मुकिला आवरणमा भाका हालिरहेको भिडियो सार्वजनिक भयो । गीत चल्यो । भिडियो चल्यो । देश-विदेशका पारखीले आ-आफ्ना स्मार्टफोनमा गीतको भिडियो संग्रहित गरे । अशोक हटकेक बने ।

प्रवासी नेपालीहरुले उनलाई नाङ्गो आँखा अगाडि देख्न चाहे । निमन्त्रणा गरे । हवाइजहाज चढेर अशोक आफूले कहिल्यै नचिताएको ठाउँमा पुगे, गीत गाए । फर्किए । यतिबेलासम्म युट्युवमा अशोक ‘भाइरल ब्वाइ’ बनिसकेका थिए ।

एउटा निमुखा बालकलाई यो मोडसम्म ल्याउन जे-जति हात जुटे, त्यसलाई सराहना गर्नैपर्छ । उनको भाका सुनेर भिडियोमा कैद गरिदिने, काठमाडौं ल्याएर गीत रेकर्ड गराइदिने, गीत सुनेर आत्मिक-भौतिक सहयोग गरिदिने सबै-सबैको एकमुष्ट सहयोगले सडकको भिडमा बरालिएर हिँड्ने बालक आज मञ्चको ‘शो पिस’ बन्न पुगेका छन् ।

कहाँ पर्‍यो गाँठो ?

अशोक दर्जी जतिबेला सामाजिक सञ्जालमा उक्लिए, तब उनलाई एक संगीतकारले काठमाडौं ल्याएर गीत रेकर्ड गराइदिए, म्युजिक भिडियो बनाइदिए । आवरणमा निमुखा बालकको उद्वार गरेजस्तो, एउटा प्रतिभालाई प्लेटर्फम उपलब्ध गराएजस्तो देखिए पनि त्यसभित्र स्वार्थका स-साना कणहरु सिञ्चित थिएन भनेर भन्न सकिने अवस्था छैन ।

सोझै भन्नुपर्दा यो अरुको सेन्टिमेन्ट र त्यसले आर्जेको ख्यातीलाई ‘क्यास’ गर्ने चतुर प्रयास थियो । भलै, गीत रेकर्ड गराइदिनु र म्युजिक भिडियो खेलाइदिनु आफैमा नराम्रो भएन । तर, यसबाट उनले के नठान्नु मनासिव हुन्थ्यो भने, ‘अशोकलाई मैले सेलिब्रेटी बनाइदिएँ ।’ बरु यो मर्म अनुभूत गरेको भए हुन्थ्यो, ‘अशोकको कारण मैले नेम र फेम पाएँ ।’

अझ उदेकलाग्दो त, अशोकको स्वरमा दोस्रो व्यक्तिले गीत रेकर्ड गराउन खोज्दा उनीमाथि हस्तक्षेप भयो । अशोकको भलो चाहनेले यति कुष्ठित मानसिकता राख्छ भन्ने प्रश्न पनि ज्यूँका त्यूँ छ ।

यसमा उनीहरुको तर्क के रह्यो भने, ‘जो पायो त्यसले अशोकको स्वरमा गीत रेकर्ड गराउँदा उसको क्रेज घट्छ ।’ अब क्रेज घट्छ भन्दैमा अशोकको प्रतिभामाथि ताल्चा ठोक्ने सुपि्रम अधिकार उनीहरुले कसरी प्राप्त गरे ? यो प्रश्नको जवाफ पनि ढिलोचाडो खोजिन सक्छ । यदि अशोकले अरु दोस्रो संगीतकार, गीतकारबाट गीत रेकर्ड गराउँदा त्यसले उनले आज बनाएको भ्यालु घट्छ भन्ने कुरा त त्यहीबेला थाहा हुन्छ, जब उक्त गीत, धुन, लय सुनिन्छ । यसमा ‘गुणस्तर नियन्त्रण’ गर्ने विकल्प पनि खुला छ ।

त्यसो हुँदाहुँदै आफ्नो कब्जामा राखेर, पठन-पाठनसमेत छुटाएर, आफूले मात्र ‘प्रयोग गर्न’ पाउनुपर्छ भन्ने साँघुरो आशय अशोक दर्जीको कथित संरक्षत्वमा देखिन्छ ।

सुन्दा अप्रिय लाग्छ, तर अशोकको जादुयी आवाजमा मग्न भएर भन्दा पनि एउटा प्रतिभाले फल्ने-फुल्ने मौका पाउनुपर्छ भन्ने हार्दिक भावले अशोकको गीत सुनिरहेका छन्, अशोकको भिडियो हेरिरहेका छन्, अशोकलाई स्टेजमा निम्त्याइरहेका छन्, अशोकका खातिर आत्मिक-भौतिक प्रेम दर्शाइरहेका छन् ।

अशोक आफैंमा अलौकिक प्रतिभाका धनी भएर भन्दा पनि उनी जुन धरातल टेकेर उभिएका हुन्, त्यसलाई दर्शक/श्रोताले सराहना गरेका हुन् । उनीजस्ता आत्मविश्वासी, सघर्षशील, कुशल बच्चाका लागि प्रेम चाहिन्छ भन्ने मनोविज्ञानले नै उनलाई आजको उचाई प्राप्त भएको हो । तर, त्यही कुरालाई ‘बिकाउ कन्टेन्ट’ ठान्नेहरुले भने अशोकलाई ‘भाइरल’ बनाइदिए । अनियन्त्रित युट्युवर्सको ‘सर्कस शैली’ ले अशोक दर्जीलाई जसरी ‘सेन्सेशनल’ बनाए/बनाइरहेका छन्, त्यो अशोकको हितका लागि भन्दा बढी आफ्नै लाभका लागि हो ।

टार्जन र सर्कश शो

एउटा पुरानो फिल्म छ, एडभेन्चर अफ टार्जन । संयोगवस् जंगलमै खाइखेली हुर्किएका टार्जन -जंगली मान्छे) लाई शहरमा ल्याइन्छ । शहरमा ल्याउनुको अर्थ यो होइन कि, उनलाई घना जंगलबाट उद्वार गरिएको हो । बरु, उनलाई ‘शो पिस’ बनाएर शहरमा सर्कस देखाउनु हो । यसमा एउटै स्वार्थ हो, द्रव्यलाभ ।

अहिले अवोध अशोकलाई जुन किसिमले पेश गरिँदैछ, त्यसले टार्जन फिल्मकै झल्को दिन्छ । ‘नेम र फेम’को ललिपप चटाएर उनको ढाँडमा टेक्ने प्रवृत्तिले अशोकलाई जति हित गर्छ, त्योभन्दा बढी अहित गर्छ । त्यसैले यस्ता प्रवृत्ति नसच्चिएसम्म, यस्ता अवोध पात्रहरु ‘सर्कसका खेलाडी’ बनाइने जोखिम रहिरहन्छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com